Prabuddha Yuwa Samuha

प्रबुद्ध युवा समूहद्वारा तीन सातादेखि सञ्चालन भइरहेको सरसफाइ अभियानको अनुगमन, स्थानीयवासीमा उत्साह

लेखक : अमृत सापकोटा क्षेत्री
Clean Baglung Campaign

प्रबुद्ध युवा समूहले बागलुङ बजार क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यका साथ प्रत्येक शनिबार सञ्चालन गर्दै आएको सरसफाइ अभियानको तेस्रो शनिबार अनुगमन कार्यक्रम सम्पन्न गरेको छ।

विगत दुई सातादेखि निरन्तर सरसफाइ गर्दै आएको क्षेत्रमा तेस्रो शनिबार पुगेर समूहले अभियानको प्रभाव, वातावरणीय सुधार तथा स्थानीयवासीको प्रतिक्रियाको अनुगमन गरेको हो। अभियान सञ्चालनपछि उक्त क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिएको छ।

पहिले फोहोरको थुप्रो र दुर्गन्धका कारण प्रभावित बनेको क्षेत्र अहिले सफा, स्वच्छ र व्यवस्थित देखिएको छ। विशेषगरी नजिकै बसोबास गर्ने परिवारहरूले फोहोरबाट फैलिने दुर्गन्धका कारण दैनिक जीवनमा समस्या भोग्नुपरेको अवस्था हटेको बताएका छन्।

अहिले वातावरण सफा बनेसँगै हिँडडुल गर्न सहज भएको र वरपरको वातावरण पनि स्वस्थ बनेको स्थानीयवासीहरूको भनाइ छ।

अनुगमनका क्रममा स्थानीय नागरिकहरूले लगातार सञ्चालन भएको अभियानप्रति खुसी व्यक्त गरेका छन्। बाटो प्रयोग गर्ने सर्वसाधारणले पनि पहिलाको तुलनामा अहिले क्षेत्र धेरै सफा र आकर्षक देखिएको प्रतिक्रिया दिएका छन्।

सरसफाइ अभियानसँगै प्रबुद्ध युवा समूहले जनचेतना अभिवृद्धिमा समेत जोड दिएको छ। समूहका सदस्यहरूले स्थानीयवासी तथा व्यवसायीहरूलाई सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न आग्रह गरेका छन्।

साथै, कसैले फोहोर फालेको देखेमा सम्बन्धित निकाय वा समूहलाई जानकारी गराई स्वच्छ वातावरण कायम राख्न सहयोग गर्न अनुरोध गरिएको छ।

समूहका अनुसार सरसफाइ अभियान केवल फोहोर उठाउने कार्यक्रम मात्र नभई समुदायमा जिम्मेवारीबोध, वातावरण संरक्षण र सामाजिक सचेतना फैलाउने अभियान पनि हो।

आगामी दिनहरूमा पनि बागलुङका विभिन्न क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने समूहले जनाएको छ।

स्थानीय समुदायको सकारात्मक साथ र सहभागिताले अभियान थप प्रभावकारी बन्दै गएको छ। स्वच्छ वातावरण निर्माण सबैको साझा जिम्मेवारी भएकाले यस अभियानमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको समूहले जनाएको छ।

← Back