Anniversary Program

धार्मिक सद्भाव र राष्ट्रिय एकताको सन्देश दिँदै बागलुङमा प्रभुद्ध युवा समूहद्वारा सद्भाव र्‍याली सम्पन्न

स्थान : हल्लनचोक, बागलुङ

प्रबुद्ध युवा समूहको आयोजनामा देशभर धार्मिक सद्भाव र सामाजिक एकताको आवश्यकता बढिरहेका बेला बागलुङमा शान्तिपूर्ण सद्भाव र्‍याली सम्पन्न भएको छ। श्रावण १६ गते शनिबार बिहान ८:०० बजे हल्लनचोकबाट सुरु भएको र्‍याली बागलुङ बजारका विभिन्न भागको परिक्रमा गर्दै सफलतापूर्वक सम्पन्न भएको थियो। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको उक्त र्‍यालीमा विभिन्न धर्म, समुदाय तथा उमेर समूहका नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

र्‍यालीमा हिन्दु, मुस्लिम, क्रिश्चियन, बौद्ध, किराँत, नास्तिक लगायत विभिन्न धर्म र आस्थामा विश्वास गर्ने नागरिकहरूले सहभागिता जनाउँदै “हामी सबै नेपाली हौँ”, “धर्म फरक भए पनि देश एउटै हो”, “सद्भाव, शान्ति र एकता कायम गरौँ” जस्ता सन्देश बोकेका प्लेकार्डसहित शान्तिपूर्ण रूपमा आफ्नो ऐक्यबद्धता प्रदर्शन गरेका थिए। सहभागीहरूले धार्मिक विविधताबीच आपसी सम्मान, सहिष्णुता र भाइचारालाई अझ मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा बागलुङ निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य माननीय सुशील खड्का तथा बागलुङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य माननीय सोम शर्मा लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले समाजमा धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय हितलाई सधैं प्राथमिकतामा राख्नुपर्ने तथा विविधताभित्रको एकतालाई अझ सुदृढ बनाउन सबै नागरिकको साझा दायित्व रहेको धारणा व्यक्त गर्नुभएको थियो।

प्रबुद्ध युवा समूहले धर्म, जात, भाषा वा समुदायभन्दा माथि उठेर सबै नेपालीबीच आपसी सम्मान, सद्भाव र राष्ट्रिय एकताको भावना विकास गर्नु आजको आवश्यकता भएको उल्लेख गरेको छ। समूहले समाजमा देखिन सक्ने विभाजनका प्रयासलाई असफल पार्दै आपसी विश्वास, सहकार्य र सहिष्णुतालाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सुरक्षा व्यवस्थापनमा खटिनुभएको नेपाल प्रहरी, र्‍यालीमा सहभागी सम्पूर्ण नागरिक, विभिन्न धर्म तथा समुदायका प्रतिनिधिहरू, स्वयंसेवक (भोलिन्टियर), सञ्चारकर्मी तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्णप्रति प्रबुद्ध युवा समूहले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। समूहले आगामी दिनमा पनि सामाजिक सद्भाव, राष्ट्रिय एकता र सकारात्मक सामाजिक परिवर्तनका लागि यस्ता रचनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

⬅ Back to News